अमेरिकाको भर्जिनियामा मनासस पार्कस्थित घरबाट एक महिना (जुलाई ३१) देखि बेपत्ता नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट अझै फेला परिनन्।
ममताको श्रीमान् ३१ वर्षीय नरेश भट्टलाई हत्याको आरोप नलागी शव लुकाउने अभियोगमा भदौ ६ (अगस्ट २२) मा पक्राउ गरिएको छ। हाल उनी शव लुकाउने आरोपमा प्रहरीको हिरासतमा रहेका छन्।
प्रहरीले ममताको शव खोजी जारी राखेको छ र शुक्रबार सिग्नल हिल पार्कमा शव खोजीका लागि व्यापक प्रयास गरेको थियो। मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार गुप्तचरहरूको सूचनामा आधारित रहेर प्रहरीले उक्त पार्कमा खोजी गरेको हो। उद्धारकर्मीहरूले जंगल क्षेत्र र खेतमा पैदल खोजी गरेका थिए, र फेला परेका वस्तुहरूको सम्बन्ध ममतासँग छ कि छैन भनेर अनुसन्धान भइरहेको छ।
ममताको शव लुकाउने मुद्दामा अक्टोबर २४ का लागि तोकिएको प्रारम्भिक सुनुवाइ रद्द गरिएको छ। नरेश भट्टका तर्फबाट दायर गरिएको मोसनको आधारमा यो सुनुवाइ रद्द भएको हो र अब अक्टोबर ७ का लागि ग्रान्ड जुरीको सुनुवाइ तोकिएको छ।
नरेशको डिफेन्स टोलीले प्रारम्भिक सुनुवाइ रद्दको माग गरेको थियो, जसका कारण मुद्दा ग्रान्ड जुरीमा जान लागेको हो। ग्रान्ड जुरीको सुनुवाइ अक्टोबर ७ बिहान पौने ९ बजे प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा हुने बताइएको छ। त्यसपछि अक्टोबर ८ का लागि अर्को सुनुवाइ तोकिएको छ।
ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सको रूपमा काम गर्थिन्। उनी जुलाई २७ मा अन्तिमपटक देखिएकी थिइन् र जुलाई ३० मा नरेशले उनलाई पछिल्लो पटक देखेका थिए। जुलाई ३१ देखि ममता बेपत्ता छिन्।
अभियोजकका अनुसार, ममता बेपत्ता हुनुभन्दा महिनौँ अघि नरेश भट्टले गुगलमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भनेर सर्च गरेको दाबी गरेका छन्। ममता र नरेशकी १ वर्षीया छोरी निमा अहिले नेपालमा हजुरआमाको हेरचाहमा रहेको बताइएको छ। नरेश र ममता बीचको सम्बन्ध ५ वर्षअघि सामाजिक सञ्जालमार्फत सुरु भएको थियो र २०७७ मंसिर २५ गते विवाह भएको थियो। ८ महिनापछि ममता पतिसँगै अमेरिकाका लागि उडेकी थिइन्।