कोशीमा प्रदेश सरकार बनेको सात वर्षमा तेस्रो पटक नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । प्रदेश सरकार बनेको सात वर्ष बित्दा माओवादी अधिकांश समय सत्ताको वरिपरि रहँदै आएको छ ।
एमाले नेता भीम आचार्यको नेतृत्वमा प्रदेश सरकार बन्दा पहिलो पटक माओवादी सत्ता भन्दा बाहिर परेको थियो । मुख्यमन्त्रीको रूपमा आचार्यले ६८ दिन प्रदेश सरकारको नेतृत्व गरे । आचार्य २०७८ साल भदौ २ गते मुख्यमन्त्री नियुक्ति भएका थिए । उनले कार्तिकमा राजीनामा दिए ।
नेकपामा आएको विभाजन र एमालेभित्र देखिएको आन्तरिक गुटबन्दीका कारण तत्कालीन १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि एमाले नेता आचार्य मुख्यमन्त्री भएका थिए ।उनको कार्यकालमा माओवादी सरकार बाहिर रह्यो । उनी मुख्यमन्त्रीबाट हटेसँगै माओवादी पुनः सत्तामा पुगेको थियो ।दोस्रो पटक भने हिक्मत कार्कीले सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री हुँदा माओवादी ३० दिन सरकार बाहिर बस्नुपरेको कोशी प्रदेशसभाको रेकर्डले देखाएको छ ।
२०८० साल भदौ २२ गते कार्की संविधानको धारा १६८ (३) अन्तर्गत प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए ।उनले ३० दिनपछि असोज २० गते विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि राजीनामा दिए । कार्कीको दोस्रो कार्यकालमा माओवादी सरकार बाहिरै रह्यो ।
कोशीमा माओवादी तेस्रो पटक प्रतिपक्षमा पुगेको छ । कोशीमा सरकारमा सहभागी माओवादीका ३ मन्त्री र एक राज्यमन्त्रीले साउन ११ गते राजीनामा दिएका थिए । मन्त्रीहरु राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।नेकपा माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मात्रै वर्तमान मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यससँगै माओवादी तेस्रो पटक प्रतिपक्षमा धकेलिएको छ ।
माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मत कार्की तेस्रो पटक वैशाख २९ गते मुख्यमन्त्री बनेका थिए । केन्द्रमा कांग्रेस-एमालेबीचमा सत्ता साझेदारी गर्ने असार १८ गते सहमति भएको थियो । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा माओवादी सत्ताबाट हुत्तिएको हो ।