Wednesday, April 9, 2025
6.2 C
New York
Wednesday, April 9, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

सामाजिक सञ्जाल र इन्टरनेटले बदल्यो गुमनाम प्रकाशको जीवन

प्रकाश तामाङले उत्तरी गोरखाको विकट बस्ती चुम भ्यालीमा चौँरी चराउँदै गरेका दिनहरूलाई सम्झँदा, वर्तमान संसारको परिदृश्यमा आँखा लगाउने कल्पना उनले कहिल्यै गरेका थिएनन्। तीन दशकभन्दा बढी समयसम्म आफ्नो जन्मभूमि र परिवारबाट टाढा, गुमनाम जीवन बिताएका प्रकाशका लागि चुम भ्याली नै सम्पूर्ण संसारको रूप थियो।

अप्रिल २०२३ मा ‘हेर्ने कथा’को टिम चुम भ्यालीको छेकम्पारमा पुगेको थियो। त्यस क्रममा उक्त टिमको भेट प्रकाशसँग भएको थियो। मिडिया वा सामाजिक सञ्जालमा नदेखिएका प्रकाशलाई हेर्ने कथाको भाग ११३ ‘फुन्जोको कथा’मा प्रस्तुत गरिएको थियो। यसपछि हेर्ने कथाले प्रकाशको बारेमा डकुमेन्ट्री ‘हराएका वर्षहरू’ तयार पार्यो।

३५ वर्षपछि परिवारसँग पुनः भेट भए पनि आर्थिक अवस्था कमजोर भएकाले प्रकाश पुनः चुम भ्यालीमै फर्किन बाध्य भएको भिडियोमा देखाइएको थियो। यो भिडिओ युट्युबमा सार्वजनिक भएपछि धेरैको ध्यान खिच्न सफल भयो।

भिडिओ हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया जनाए: “हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरें। प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो। यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् भन्ने सोचें। एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु।”

भिडिओको अन्त्यमा प्रकाशले छ महिनापछि घर फर्केर दशैं मनाएको कुरा उल्लेख गरिएको थियो। त्यसपछि धेरैले प्रकाशको वर्तमान अवस्था के छ, उनी अहिले कहाँ छन् भन्ने जिज्ञासा राखेका थिए। हेर्ने कथाले सामाजिक सञ्जालमा एक लामो स्टाटस राख्दै प्रकाशको अवस्था बारे जानकारी दियो।

पोस्टमा उनले भोजपुरबाट पुनः चुम भ्याली फर्किएको उल्लेख गरे। “नागरिकता बनाउन खोजेको, तर भएन। जन्मदर्ता चाहिन्छ। झापाबाट आएको बसाइँसराइ चाहिन्छ भने,” प्रकाशले भने। अर्थात् घर फर्किसकेपछि पनि उनले नागरिकता प्राप्त गर्न सकेनन्। पारिवारिक अवस्थाले गर्दा उनी पुनः चुम भ्याली फर्कन बाध्य भएका थिए। यो थाहा पाएपछि सामाजिक सञ्जालमा प्रकाशको बारेमा चर्चा चल्न थाल्यो।

उनलाई कामको स्थानबाट ज्याला पाउनुपर्ने, सरकारले नागरिकता दिनुपर्ने, र भोजपुर फर्कनुपर्ने जस्ता विषय उठेका थिए। प्रकाशको सम्मानमा चुम भ्यालीबाट उनलाई बिदा गरियो।

सञ्चारमाध्यममा आएका समाचार अनुसार प्रकाशका साहुले उनलाई १० लाख रुपैयाँ दिने भएका छन्, अनि चुमनुब्री गाउँपालिकाले एक लाख । सामाजिक सञ्जाललाई नियाल्ने हो भने  उनलाई सहयोग गर्न चाहनेहरूको ओइरो नै लागेको छ । घरजग्गाको जोहो गरिदिनेदेखि रोजगारी/व्यवसाय गर्न सहयोग जुटाइदिने सम्मका बचन उनले पाएका छन् ।

सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले प्रकाशलाई नागरिकता दिन गृहसचिवलाई निर्देशन दिएको बताएका थिए । सचिवको आदेश अनुसार भोजपुरका प्रमुख जिल्ला अधिकारीको टोलीले प्रकाशको घरमा नै पुगेर विवरण संकलन गरेको थियो । सोही बमोजिम भोजपुर घर फर्किएका प्रकाशलाई आइतबार त्यहाँको षडानन्द नगरपालिका-१० ले  उनकै घरमा गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । उनको बैंक खाता खोल्ने प्रक्रिया समेत अगाडि बढेको बताइएको छ । योसँगै सामाजिक सञ्जालमा धेरैले सहयोग गर्ने प्रतिवद्धता दिन थालेका छन् । केहीले आर्थिक सहयोग गरेका भिडिओ पनि फेसबुक र टिकटकमा देखिन थालेका छन् ।

प्रकाश जस्ता गुमनाम पात्रलाई चिनाउन मात्र होइन, उनको जीवनलाई पुनर्स्थापित गर्न र पहिचानको समस्या समाधान गर्न पनि सामाजिक सञ्जाल एक शक्तिशाली माध्यमा रूपमा उभिएको यस घटनाले देखाएको छ । नागरिकता पाएसँगै उनको जीवनको नयाँ अध्याय सुरु भएको छ । उनी पुनः गुमनाम हुन चाहँदैनन्, र अब नागरिकताको साथसाथै उनीसँग आफ्नो भविष्यको लागि धेरै विकल्पहरू छन् ।

सामाजिक सञ्जालको सकारात्मक पक्ष बाहेक यसका नकारात्मक पक्ष पनि सतहमा आउन थालेका छन् । प्रकाशको कथा बाहिर आएपछि धेरैले उनका साहुलाई गाली गरे । ३५ वर्षसम्म श्रम शोषण गरेको आरोप लगाए । यसरी सामाजिक सञ्जालमा चर्को आलोचना र गाली आउन थालेपछि प्रकाशका साहुका छोरा छेतेन दोण्डुपले हेर्ने कथामार्फत वास्तविकता बताए ।

वास्तविकता थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले साहुलाई सकारात्मक रूपमा लिन थाले । त्यसबाहेक अहिले सामाजिक सञ्जाल विशेषगरी टिकटकमा हेर्ने कथा, हेर्ने कथाकी प्रस्तोता विद्या चापागाईं र प्रकाश तामाङका नाममा नक्कली अकाउन्ट बनाउने क्रममा बढेको छ । भ्युज र फलोअरका लागि ती अकाउन्टमा विभिन्न फोटो र भिडिओ राखिएका छन् । त्यसबाहेक उनी जहाँजहाँ गए, त्यहाँको जानकारी दिनेहरू क्यामेरा बोकेर पछि लागेका छन् ।

यस विषयमा व्यङ्ग्य गर्दै फेसबुक पेज ट्रोल नेपालले लेखेको छ, “पाका दाइ हेर्ने कथासम्म ठीकैका पात्र थिए । अब युट्युबेको हात परिसके, भगवान पशुपतिनाथले समेत बँचाउन सक्दैनन् ।” अर्थात् धेरैले प्रकाश अब नेपाली युट्युबरको हट केक बन्नेमा आशंका व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा निर्जल अधिकारी लेख्छन्, “उसलाई बाहिर ल्याइदिएर विद्या दिदीले गल्ती गर्नुभयो जस्तो पो लाग्न थाल्यो । युट्युबेहरूले एकैचोटि टुप्पामा पुर्‍याएपछि घरको न घाटको बनाएर छाड्छन् । त्यो कुरा कसले बुझाइदिने अब त्यो परिवारलाई ?” युट्युबमा प्रकाश तामाङ सर्च गर्ने हो भने उनी, उनको पारिवारिक अवस्था र अन्य विषयमा तयार पारिएका थुप्रै सामग्री देख्न सकिन्छ । जसमा राम्रै भ्युज आइरहेको छ । सामाजिक सञ्जालमा आफूले चर्चा पाउन सहयोग गरेको जस्तो देखाउन केही व्यक्तिहरू लागिपरेको केही सामाजिक सञ्जाल प्रयोगकर्ताको तर्क छ ।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img