Tuesday, April 8, 2025
4.1 C
New York
Tuesday, April 8, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले अघि बढायो परियोजना

काठमाडौं । नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिको विषयमा विवाद समाधान हुन नसकिरहेका बेला भारतले सो क्षेत्रलाई समेटेर महत्वाकांक्षी आयोजना ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’ (भीभीपी) अघि बढाएको छ ।

भारतले जम्मू र काश्मीरको विशेष अधिकार रहेको संविधानको धारा नै खारेज गरेपछि प्रकाशनमा ल्याएको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समेटेको थियो । २ नोभेम्बर २०१९ मा भारतले सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरासहितका क्षेत्र आफ्नामा पारेको थियो ।

सो नक्सा सार्वजनिक भएपछि नेपाल सरकारले ६ नोभेम्बर २०१९ मा कूटनीतिक नोटमार्फत भारतको कदमको विरोध जनाएको थियो । तर पनि भारले त्यसको कुनै जवाफ पठाएको थिएन । त्यसपछि पनि भारतले आफ्नो क्षेत्रमा राख्दै विभिन्न परियोजनाको काम सञ्चालन गरिरहेको छ । एक वर्षअघिदेखि भारतले सो क्षेत्रमा भाइब्रेन्ट भिलेज प्रोग्राम (भीभीपी) कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ ।

भारतले त्यसरी कार्यक्रम सुरु गरेको क्षेत्रमा उत्तरी सिमानाका गाउँ र ब्लकहरूमा विकास गर्ने, सीमावर्ती गाउँहरूमा बसोबास गर्ने मानिसहरूको जीवनस्तरमा सुधार गर्ने उद्देश्य रहेको जनाएको छ । एक वर्षअघिदेखि सो क्षेत्रमा कार्यक्रम सञ्चालन भइरहेको पाइएको छ । भारतीय गृह मन्त्रालयले एक वर्षअघि जारी गरेको विज्ञप्तिनुसार उत्तरी सीमावर्ती क्षेत्रमा भाइब्रेन्ट भिलेज प्रोग्राम सञ्चालन भइरहेको छ ।

यसले सीमावर्ती क्षेत्रका मानिसलाई आफ्नो जन्मस्थानमा बस्न प्रोत्साहित गर्न र यी गाउँबाट विस्थापित भएकाहरूलाई पुनस्र्थापना गर्न एवं सीमा सुरक्षामा सुधार ल्याउनका लागि भीभीपी कार्यक्रम सञ्चालनमा ल्याइएको जनाएको छ । कार्यक्रमले देशको उत्तरी भूमि सिमानामा रहेका चार राज्य र एक केन्द्र शासित प्रदेशका १९ जिल्ला र ४६ सीमाखण्डका २ हजार ९ सय ६७ गाउँमा आवश्यक पूर्वाधारको विकास र जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न कोष उपलब्ध गराउनेछ । जसअन्तर्गत अरुणाचल प्रदेश, सिक्किम, उत्तराखण्ड, हिमाचल प्रदेश, र लद्दाखको केन्द्र शासित प्रदेश रहेका छन् ।

कार्यक्रमले पर्यटन र सांस्कृतिक सम्पदाको प्रवर्धन, सीप विकास र उद्यमशीलता, कृषि–बागवानी, औषधीय वनस्पति–जडिबुटीको खेतीलगायत सहकारी संस्थाहरूको विकासमार्फत जीविकोपार्जनका कामहरू केन्द्रित रहने जनाएको छ । भीभीपी कार्यक्रमलाई तीन चरणमा सम्पन्न गर्ने योजनाअनुसार केन्द्रबाटै बजेट छुट्ट्याइएको छ । आर्थिक वर्ष सन् २०२२–०२३ देखि आज २०२५–०२६ सम्म लागू गरिएको केन्द्रीय प्रायोजित योजना हो । भारतीय गृह मन्त्रालयका अनुसार यी सीमावर्ती गाउँहरूमा ४ हजार सेवा वितरण सचेतना शिविरसहित ६ हजार कार्यक्रम आयोजना गरिएको छ । भारत सरकारले यी क्षेत्रमा रोजगारी सिर्जना गर्न ६ सयभन्दा बढी परियोजना स्वीकृत गरेको छ । ४ वर्षको अवधिमा भीभीपीमा ४८ अर्ब भारतीय रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ ।

प्राथमिकताका आधारमा पहिलो चरणमा ६ सय ५२ गाउँ परेका छन् । यीमध्ये ४ सय ४५ वटा गाउँ अरुणाचल प्रदेश, ७५ वटा गाउँ हिमाचल प्रदेश, ५१ वटा गाउँ उत्तराखण्डका, ४६ वटा गाउँ सिक्किम र ३५ वटा गाउँ लद्दाखका छन् । त्यस्तै, भारतले २४ अर्ब २० करोडको बजेटमा १ सय ३६ सीमावर्ती गाउँलाई मौसमी सडकले जोड्ने र २०२४ डिसेम्बरसम्म सबै गाउँमा नेटवर्क सेवा पु¥याउने लक्ष्य लिएको छ ।

दुर्गम क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न पूर्वाधार र क्षमता अभिवृद्धि गरी पर्यटन प्रवर्धनमा पनि कार्यक्रम केन्द्रित गरेको छ । भारतीय सरकारले भाइबे्रन्ट गाउँ कार्यक्रमअन्तर्गत सीमावर्ती गाउँहरूले सामना गर्ने समस्यालाई अझ राम्रोसँग बुझ्न र सम्बोधन गर्नसक्ने अपेक्षा लिएको छ ।

नेपाल–भारतबीच सीमा विवाद भएको र नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो क्षेत्रमा रहेको भनिरहेका बेला भारतले द्रुत गतिमा तीनवटा गाउँमा आफ्नो परियोजना सञ्चालन गरिरहेको छ । नेपालले आफ्नो प्रशासनिक तथा राजनीतिक नक्सामा तीनवटा क्षेत्र समेटे पनि भारतले सो क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगिरहेको छ । तर, नेपालले भने सो क्षेत्रमा जनगणनासमेत गर्न नसकेको अवस्था छ ।

भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लाका ७२ स्थानमा सीमा विवाद छ । त्यसमध्ये सबैभन्दा धेरै पेचिलो बनेको सीमा विवाद सुस्ता र कालापानी क्षेत्रको हो । दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा नेपालले कूटनीतिक पहल गरे पनि त्यसको सुनुवाइ हुन सकेन बरु सो क्षेत्रलाई भारतले थप मजबुत बनाउँदै लगिरहेको पाइएको छ । त्यस क्षेत्रमा भारतीय सुरक्षा फौज तैनाथ गरिएको झन्डै सात दशक हुन लाग्यो ।

लिम्पियाधुराबाट बग्ने कालीनदी नै नेपाल–भारतको सिमाना हो । सो सीमा इस्ट इन्डिया कम्पनी सरकार र नेपालबीच सन् १८१६ मा भएको सुगौली सन्धिले नै निर्धारण गरेको अन्तरदेशीय सीमा हो । भारतले धेरै वर रहेको लिपुलेकबाट आएको खोलालाई कालीनदी दाबी गरेर सो क्षेत्र आफ्नामा पार्दै आइरहेको छ ।

त्यसकारण त्यहाँको गुञ्जी, कालापानी, कुटी, नाभीलगायत ३ सय ९५ वर्गकिलोमिटर क्षेत्रमा अहिले पनि भारतको निगरानीमा छ । सो भूमिलाई आफ्नो भनी भारतले दाबी मात्रै गरेको छैन, विभिन्न परियोजना सञ्चालनसमेत गरिरहेको छ ।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img