Wednesday, April 9, 2025
6.2 C
New York
Wednesday, April 9, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई थाहा नदिई कसले राखेको थियो कार्यकक्षमै क्यामेरा ?

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा गोप्य रूपले क्यामेरा जडान गरिएको तथ्य बाहिर आएको छ । २०७९ पुस ११ गते प्रचण्ड प्रधानमन्त्री बनेपछि सिंहदरबारस्थित कार्यकक्षमा चारवटा क्यामेरा जडान गरिएको उच्च स्रोतको दाबी छ ।

‘तत्कालीन प्रधानमन्त्रीलाई थाहा नदिई सिंहदरबारस्थित कार्यकक्ष, प्रधानमन्त्रीलाई भेट्न जाने ढोका र भेटघाट कक्षमा क्यामेरा जडान गरिएको थियो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको सचिवालयकै एकजना सदस्यले प्रधानमन्त्रीलाई समेत थाहा नदिई क्यामेरा जडान गरेका रहेछन् ।’

प्रधानमन्त्रीको सुरक्षा कमाण्डले सो कुरा थाहा पाएपछि क्यामेरा जडान गर्ने व्यक्तिमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताएको थियो । ‘छानबिन गरी कारबाही अगाडि बढाउँदा उक्त सूचना बाहिर जाने भन्दै प्रधानमन्त्री प्रचण्डले नै कारबाहीबाट जोगाएका थिए,’ स्रोतले थप्यो ।

प्रचण्डकै सचिवालयका एक सदस्यले पनि प्रधानमन्त्रीलाई थाहा नदिई सीसी क्यामेरा जडान गरिएको स्वीकारे । ‘हिडन क्यामेरा नै त होइन, तर प्रधानमन्त्रीज्यूलाई समेत थाहा नदिई प्रधानमन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गर्ने ढोकामा सीसीटीभी क्यामेरा जडान गरिएको रहेछ, ‘सचिवालयका ती सदस्यले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीको कार्यकक्षमा को गए, को आए भन्ने कुराको निगरानी गर्न कसैलाई थाहा नदिई सीसीटीभी क्यामेरा जडान गरिएको थियो ।’

आईटीमा काम गर्नेहरूले नै त्यो क्यामेरा जडान गरेको उनले बताए । तर, त्यसबारे प्रचण्ड बेखबर रहेको सचिवालयकै सदस्यले जानकारी दिए ।

‘सीसीटीभी क्यामेराको फुटेज दुरूपयोग गर्ने मनसायले जडान गरेको होइन । नजानिकन ती साथीले सीसीटीभी जडान गरी फुटेज राख्ने गरेका रहेछन्,’ तत्कालीन प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘नेपाली सेनाका सेक्युरिटीले भने त्यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्नुपर्छ भनेर भनेकै हुन् ।’

त्यतिबेला प्रधानमन्त्री प्रचण्डका आईटी विज्ञ प्रकाश रायमाझी थिए । प्रधानमन्त्रीको कार्यकक्षमा हिडन क्यामेरा नभएर सीसीटीभी क्यामेरा जडान गरिएको उनले बताए । ‘हामीले आफ्नै सेफ्टीका हिसाबले सीसीटीभी क्यामेरा जडान गरेका थियौं,’ रायमाझीले लोकान्तरसँग भने, ‘विगतमा पनि प्रधानमन्त्रीकै कार्यकक्षबाट पेन हरायो, ल्यापटप, चार्जर मिसप्लेस भयो, हरायो भन्ने कुरा आएकाले सेफ्टीको हिसाबले मात्र सीसीटीभी जडान गरेका थियौं ।’

अघिल्लो प्रधानमन्त्रीको कार्यकालमा कार्यालय सहयोगी रहेका दिनेश श्रेष्ठले प्रधानमन्त्रीको कार्यकक्षमा लगेको पेन भोलिपल्ट नै हराएकोले सामान चोरी नहोस्, कुनै पनि सामान मिसप्लेस नहोस् भन्ने उद्देश्यले आफ्नै आन्तरिक निगरानीका लागि सीसीटीभी जडान गरेको उनले बताए ।

सुरक्षा निकायले भने सुरक्षा प्रोटोकलका आधारमा सीसीटीभी क्यामेरा जडान गर्न नहुने भन्दै प्रश्न उठाएको उनले स्वीकारे । ‘प्रधानमन्त्रीलाई समेत थाहा नदिएर जडान गरिएको होइन । भिजिबल (देखिने गरी) नै जडान गरिएको थियो,’ रायमाझीले लोकान्तरसँग थपे, ‘प्रधानमन्त्रीको कार्यकक्षमा हिडन क्यामेरा लगाएको भन्ने कुरा सरासर गलत हो ।’

२०८१ असार २८ गते संसद्को बहुमत गुमाएपछि प्रचण्ड प्रधानमन्त्रीबाट हटेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि सेक्युरिटी हेर्ने जिम्मा पाएको नेपाली सेनाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्  कार्यालय र बालुवाटारस्थित निवासमा पुनः स्क्यान गरेको थियो ।

प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले प्रधानमन्त्रीको कार्यकक्ष स्क्यान गरिएको बतायो । ‘सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा रहेका कार्यालयका हरेक कोठामा सुरक्षा निकायले स्क्यान गरेको थियो,’ उक्त स्रोतले भन्यो, ‘यसअघि कार्यकक्षमा क्यामेरा जडान गरिएको रहेछ, त्यसकारण सबै स्क्यान गर्न आएको भन्ने जवाफ सेक्योरिटीले दिएका थिए ।’

सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा सर्वसाधारण जान पाउँदैनन् । प्रधानमन्त्रीको सचिवालयका सदस्य र विशिष्ट व्यक्तिहरूलाई मात्र ‘एक्सेस’ हुने गरेको छ ।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img